काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन निरन्तरता दिने भएको छ।
बाढी प्रभावित क्षेत्रमा सहज सञ्चार, खोज तथा उद्धार र राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले भदौ २० गतेदेखि लागू हुने गरी निःशुल्क सेवाको अवधि थप सात दिन बढाउने घोषणा गरेको हो। यससँगै प्रभावित क्षेत्रमा एनसेलका ग्राहकले थप एक सातासम्म भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क प्रयोग गर्न पाउनेछन्।
यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गतेदेखि प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। त्यसपछि कम्पनीले निःशुल्क सेवाको अवधि थप सात दिन बढाएर भदौ १९ गतेसम्म पुर्याएको थियो।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले विपद्का समयमा प्रभावित समुदाय तथा उद्धार र राहतमा खटिएका टोलीका लागि सञ्चार सेवा अत्यावश्यक भएकाले निःशुल्क सेवाको अवधि पुनः थप गरिएको बताए।
उनका अनुसार बाढीका कारण अवरुद्ध भएका एनसेलका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेका छन्। यसले प्रभावित क्षेत्रमा सञ्चार सेवा क्रमशः सामान्य बन्दै गएको कम्पनीको भनाइ छ।
बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए। कम्पनीले बिहीबार नुवाकोटको त्रिशूलीमा रहेको आफ्नो २५औँ टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
तर, रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एनसेलको एक टावर भने बाढीका कारण पूर्ण रूपमा नष्ट भएको छ। त्यस्तै, रसुवाकै उत्तरगया, तिरुमा रहेको अर्को टावरमा हेलिकप्टरमार्फत आवश्यक उपकरण पुर्याएर सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको कम्पनीले जनाएको छ।
उद्धार कोषमा एक करोड सहयोग
भोटेकोशी बाढीपछि एनसेलले राहत तथा पुनःस्थापनामा समेत आर्थिक सहयोग गरेको छ। बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत एक करोड रुपैयाँ सहयोग गरेको थियो।












