काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ । नागढुंगा -मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ ।
उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।
क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजनाले जनाएकाे छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हाे ।