काठमाडौं । नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तले प्रशासन र चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर प्रदर्शन गरेका छन्।
जेल प्रशासनका अनुसार मृतक राहुल तुहारा बिहान जेलमा व्यायाम गर्ने क्रममा स्वास्थ्य समस्या आएपछि अस्पताल ल्याइएको थियो। अस्पतालले प्रारम्भिक उपचारपछि आवश्यक सुविधा नहुँदा उनलाई अन्य अस्पताल लैजान सिफारिस गरेको थियो। तर जेल प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ भएको र त्यसकै कारण मृत्यु भएको आफन्तले बताएका छन्।
अस्पताल प्रशासनले भने कैदीलाई सक्दो उपचार गरिएको र थप उपचारका लागि तत्कालै रेफर गर्न सिफारिस गरिएको जनाएको छ। घटनापछि नारायणी अस्पताल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।












