काठमाडौं । भ्रष्टाचार मुद्दामा काठमाडौं नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो सजाय निर्धारण गरेको हो। उनलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना पनि तोकिएको छ।
विशेष अदालतले निलम्बित मेयर बस्नेत र अर्का प्रतिवादी राजुप्रसाद कँडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेत र व्यापारी कँडेलसहितलाई प्रतिवादी बनाएर १४ पुस २०८१ मा विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो । सोही मुद्दाको किनारा लगाउँदै विशेषले दुबैजनालाई दोषी ठहर गरेको हो । विशेषले सजाय निर्धारणका लागि भने असार १६ गतेलाई पेसी तोकेको छ । घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घूसबापत रकम लिएर त्यसलाई शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेत, पत्नी उर्मिलासहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । विशेषले उर्मिला बस्नेतलाई भने सफाई दिएको छ ।
सार्वजनिक पदको दुरुपयोग गरी बस्नेतले कँडेलबाट लिएको घूसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको विशेषमा अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ । बस्नेत २०७४ र २०७९ गरी दुवै स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । कँडेल भने पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक हुन् । मेयर बस्नेतविरुद्ध घूस प्रकरणमा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ बिगो कायम गरी दायर भएको सोही मितिको मुद्दामा पनि उनी दोषी ठहर भएका हुन् ।
व्यापारी कँडेलबाट लिएको घूस शुद्धीकरण गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको थियो ।
घूस खुवाउने व्यापारी कँडेलविरुद्ध सम्पत्ति शुद्धीकरण गर्न दुरुत्साहन, मद्दत, सहजीकरणसमेत गरेकामा मतियार कायम गरी बिगो, कैद र जरिवाना मागदाबी गरिएकोमा उनी पनि दोषी ठहर भएका हुन् ।
बस्नेतले नगर प्रमुखको पद दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घर/जग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष कँडेलबाट घूस/रिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको/दिन लगाएको, प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाबाट विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिए/दिन लगाएको’लगायत अभियोग लगाइएको थियो ।
यसैगरी ‘प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजका कम्पनीहरूलाई उपलब्ध गराउने गरी सम्झौता गरे/गराएकामा सोही सम्झौतासमेत कार्यान्वयन गर्न, गराउन भुलभुलैयामा पारी जग्गाधनीसाग सम्झौता गरी/गराई मन्दिर निर्माणका लागि भनी लिएर जग्गा प्लटिङमा बिक्री गर्ने काममा संलग्न रहेको’ अनुसन्धानबाट खुलेको थियो ।












