काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने दाबी गरेका छन्। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री लेखकले नागरिकता विधेयक अड्काएर नराख्नुपर्ने र छिटो पारित गर्नुपर्नेमा जोड दिँदै सरकार सभी विषयमा छलफल गर्न तयार रहेको बताए। समितिले पनि छोटो समयमै विधेयकमाथि छलफल टुंग्याएको उल्लेख गर्दै उनले १४ गते संसदबाट विधेयक पारित गर्ने तयारी गरिएको जानकारी दिए।
बैठकमा गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन विधेयक पनि असार महिनाभित्रै समितिबाट टुंग्याएर संसदमा पेश गर्न वातावरण बनाउन आग्रह गरे। उनका अनुसार यो विधेयक पनि सरकारको प्राथमिकताको सूचीमा परेको छ।
समितिमा आज प्रहरी विधेयकमाथि सैद्धान्तिक छलफलको सुरुआत भएको छ। लेखकले विधेयकमा संघीयताको मर्म समेटिने र प्रहरी संगठनलाई प्रभावकारी बनाउन आवश्यक परिमार्जन गरिने बताए।












