काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संघीय तथा सुदूरपश्चिम प्रदेश सरकार दुबै छाड्दै औपचारिक रूपमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। पार्टीको संसदीय दलको बैठकले आइतबार यस्तो निर्णय गरेको हो।
पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीका अनुसार, संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनेछन्।
यसअघि सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेका थिए। मन्त्री बर्खास्तीपछि पार्टीले आक्रोशसहित संघ र प्रदेश दुबै सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नाउपाले केही दिनअघि सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ। सरकारबाट बाहिरिएसँगै अब नाउपा औपचारिक रूपमा प्रतिपक्षको भूमिकामा रहने भएको छ।












