काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् । रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको विषयमा समाचार आएपछि बिहीबार सामाजिक सञ्जालबाट ढकालले रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएकाले कुनै पनि प्रकारको हिनामिनाको सम्भावना नरहेको बताएका हुन् ।
“रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुईवटा फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन,” उनले भनेका छन् ।
तर, रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको उनको दाबी छ । “मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिएँ । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ, र केही चेकमा मेरो हस्ताक्षर पनि छन्,” उनको भनाइ छ ।