काठमाडौं । असोज ९ गते दिउँसो करिब २:४५ बजे मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
नारायणगढतर्फबाट एक्साभेटर १ र लोडर १ तथा मुग्लिनतर्फबाट लोडर २ र एक्साभेटर १ गरी पाँचवटा उपकरण प्रयोग गरी निरन्तर काम भइरहेको छ। साथै दुवैतर्फ १/१ वटा ब्याक हो लोडर समेत तयारी अवस्थामा राखिएका छन्। तर, काम गर्ने स्थान साँघुरो भएकाले एकपटकमा पाँचवटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था रहेको बताइएको छ।
सडक डिभिजनका अनुसार हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। ठूला ढुंगाका कारण नारायणगढतर्फ काम गर्न केही कठिनाइ भएपनि उपकरणले पूर्ण क्षमतासहित कार्य गरिरहेको जनाइएको छ।
ढुंगाको मात्रा बढी हुनु र स–साना तिखा ढुंगाका कारण टायर पञ्चर हुने, अपरेटर घाइते हुने जस्ता समस्या आएको र त्यसले काममा ढिलाइ भएको डिभिजनले जनाएको छ। यसै कारण हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर पनि पठाइएको छ।
डिभिजनले कुनै बाधा नआएमा निरन्तर काम गर्न सकिने खण्डमा आज रातिसम्ममा सम्पूर्ण पहिरो हटाएर सडक आवागमन सञ्चालनमा ल्याउन सकिने अनुमान गरेको छ।












