काठमाडौं । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज मनसुन आगमन बुलेटिन-३ जारी गरेर आजदेखि मनसुन देशभर फैलिएको जनाएको हो।
नेपालमा यस वर्षको मनसुन गत जेठ १५ गते देशको पूर्वी भूभागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएको थियो। गत जेठ २९ गते मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागसम्म विस्तार भएको थियो।
नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भूभागबाट प्रवेश गरी एक हप्ताभित्र विस्तार हुने गर्दछ। यसवर्ष मनसुन सरदर मिति भन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ।












