काठमाडौं । २०३६ सालको ऐतिहासिक किसान आन्दोलन तथा छिन्ताङ विद्रोहमा साहसिक भूमिका निर्वाह गरेका महिला योद्धाहरू गोरखमाया राई, रेखा राई, मिना राई र शारदा राईलाई एक्सन वर्क नेपालले विशेष सम्मान गरेको छ । तत्कालीन किसान आन्दोलन र छिन्ताङकाण्डका क्रममा महिला सहभागिता, साहस र त्यागको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा गोरखमाया राईलाई नगद ५० हजार रुपैयाँसहित ‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ प्रदान गरिएको छ । समाजमा दिगो शान्ति स्थापना, महिला अधिकारको प्रवद्र्धन, समाज परिवर्तन र न्यायप्रतिको निष्ठालाई कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा महिला नेतृ तथा संविधानसभा सदस्य डा. विन्दा पाण्डे, अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव पेम्बा लामा, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नस्वरी राई, एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेल, अनेमसंघ जिल्ला अध्यक्ष गोमा कार्की, सचिव सम्झना आले, वडाध्यक्ष हेमकुमार राई लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा सम्मान हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ९० वर्षीया गोरखमाया राई स्वयं स्वास्थ्यका कारणले उपस्थित भएकी थिइनन् भने उनको बुहारी अमृता राईलाई पुरस्कार प्रदान गरिएको थियो भने अन्य सम्मानित व्यक्तिहरु भने उपस्थित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा.पाण्डेले बोल्ने र लेख्नेहरूको मात्र इतिहास लेखिने प्रवृत्तिका कारण आन्दोलनमा सक्रिय महिलाहरूको योगदान ओझेलमा परेको उल्लेख गरिन् । उनले महिलाले खेलेको ऐतिहासिक भूमिकालाई दस्तावेजीकरण गरी भावी पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिइन् ।
सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले छिन्ताङकाण्डका योद्धालाई सम्मान गरिएकोमा एक्सन वक्र्सलाई धन्यवाद व्यक्त गरेका थिए । अध्यक्ष राईले छिन्ताङकाण्डका महिला योद्धालाई संरक्षण, सम्मान गर्ने अभिभारा प्रदेश सरकारले लिनुपर्ने बताउँदै विभिन्न कारणले सरकारी झन्झटिलो प्रक्रियाका कारण उक्त काम गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेलले महिला आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गरेका महिला योद्धाहरूको इतिहास खोजी, अभिलेखीकरणगर्नुपर्ने महसुस गर्दै आफुले विभिन्न सञ्चारमाध्यममा लेखहरु प्रकाशित गर्दै आएको बताइन् ।

उनले महिलाहरू जहिले काममा अगाडि रहेपनि नाम र इतिहास भने ओझेलमा पर्ने गरेको यथार्थ औंल्याउँदै मेटिँदै गएको महिलाको इतिहास उजागर गर्नु आजको आवश्यकता भएको बताइन् ।
२०३६ सालको छिन्ताङकाण्ड नेपाली राजनीतिक इतिहासमा किसान आन्दोलन र राज्य दमनविरुद्धको संघर्षको महत्वपूर्ण अध्याय मानिन्छ । त्यस आन्दोलनमा महिलाहरूले निर्वाह गरेको भूमिका लामो समयसम्म ओझेलमा परेको भन्दै अहिलेको पुस्तालाई इतिहास सम्झाउने उद्देश्यले सम्मान गरिएको एक्सन वर्क नेपालले जनाएको छ ।

संस्थाले अन्तर्राष्ट्रिय शान्ति दिवस सेप्टेम्वर २१ तारिखका दिन हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कार अछाम, जुम्ला, पर्सा, लमजुङ, सिन्धुपाल्चोक, मुगु, बैतडी र बारा लगायतकाविभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिसकिएको थियो ।
विगतमा पुरस्कारको राशी यति नभएपनि डा.विन्दा पाण्डेको ‘भूँइ मान्छे’ पुस्तकबाट प्राप्त रोयल्टिमध्येको केही रकम थप गरी यस वर्ष पुरस्कारको राशी ५० हजार हस्तान्तरण गरिएको हो ।

याे पनि
छिन्ताङ हत्याकाण्ड : न्यायको खोजीमा पीडित परिवार












