काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट प्राप्त वैदेशिक सहायता सफलतापूर्वक समीक्षा भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ। एमसीए–नेपालले नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा सञ्चालित विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ।
प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे – नयाँ दमौली प्रसारण लाइन निर्माण सम्झौता एञ्जेलिक–स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली – नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा–सलासर संयुक्त उपक्रमसँग गरिएको हो। संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी परियोजनामा १८० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालन गरिनेछ।
हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, अमेरिकी दूतावासका अधिकारीहरू उपस्थित थिए। एमसीसीका कार्यवाहक उपाध्यक्ष जोन विङ्गलले भने, “नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तरआवद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीहरूसँग मिलेर काम गर्न पाउँदा हामी गौरवान्वित छौँ।”
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले अमेरिकाबाट भइरहेको निरन्तर सहयोगको सराहना गर्दै, “आजको यो उपलब्धिमा नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिबिम्बित भएको छ। हामी दिगो सहकार्य गर्दै सफल कार्यान्वयनमा केन्द्रित छौँ,” बताए।
एमसीसी नेपाल कम्प्याक्ट नेपालको दीर्घकालीन आर्थिक विकास र पूर्वाधार सुदृढीकरणका लागि ६९ करोड ७० लाख डलरको ऐतिहासिक लगानी हो। विद्युत् प्रसारण र सडक मर्मत आयोजना कार्यान्वयन गरी क्षेत्रीय ऊर्जा व्यापार, यातायात सञ्जाल सुधार र आर्थिक वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखिएको छ।












