काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार (भदौ ६) देशका विभिन्न नदी तथा सहायक नदीमा पानीको बहाव बढ्ने र कतिपय क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहने चेतावनी दिएको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव हाल सतर्कता तहभन्दा तलै भए पनि दिनभर बढ्ने सम्भावना छ।
यस्तै सिन्धुपाल्चोक, धादिङ, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुमपूर्व–पश्चिम, डोटी, डडेलधुरा र आसपासका जिल्लामा बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढी आउँदा मध्यम जोखिम निम्तिन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी तापलेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, नुवाकोट, रसुवा, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, तनहुँ, बागलुङ, गोरखा, पर्वत, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, बाजुरा, हुम्ला, डोल्पा, बझाङ, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा पनि केही ससाना नदीको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।
बाढी महाशाखाले उल्लेखित जिल्लाका स्थानीय बासिन्दा तथा सम्बन्धित निकायलाई सतर्क रहन र आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ।












