काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारी पूरा गरेको छ। केन्द्रीय बैंकले शुक्रबार सञ्चालक समितिको बैठकबाट स्वीकृत गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले नीति पारित गरिसकेको एक स्रोतले जानकारी दिएको छ। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको नेतृत्वमा तयार भएको यो पहिलो मौद्रिक नीति उदार हुने संकेत दिइएको छ।
मौद्रिक नीति सार्वजनिक हुनु अगाडि बिहीबार केन्द्रीय बैंकको व्यवस्थापन समितिमा गहन छलफल भएको थियो। सोही छलफलको आधारमा बोर्डमा पनि नीति सम्बन्धी भूमिका र वर्तमान आर्थिक अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो।
गभर्नरको सक्रिय निर्देशन
गभर्नर पौडेलले आर्थिक वर्ष सुरु हुनु अगावै मौद्रिक नीति सार्वजनिक गर्नुपर्नेमा जोड दिएका थिए। उनले मौद्रिक नीति साउन १ गतेबाटै लागू हुने गरी तयारी गर्न निर्देशन दिएका थिए।
यसअघि साउनको पहिलो साता मात्र मौद्रिक नीति ल्याउने तयारीमा रहेका राष्ट्र बैंकका कर्मचारी गभर्नरको निर्देशनपछि सक्रिय भएका थिए। पछिल्ला दिनमा विभिन्न विभागीय छलफलहरू तीव्र रूपमा गरिएको थियो।
बिहीबार अर्थमन्त्रीसँग भेट
मौद्रिक नीतिको अन्तिम तयारीसँगै गभर्नर पौडेलले बिहीबार अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका थिए। अर्थमन्त्रीलाई आवश्यक ब्रिफिङ गरेपछि उनी सोझै सञ्चालक समितिको बैठकमा सहभागी भएका थिए।
शुक्रबार बिहान बोर्ड बैठक, नीति सार्वजनिक हुने तयारी
बिहीबार रातिसम्म चालु आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांक उपलब्ध भइसकेको र छलफल सकिएको सन्दर्भमा शुक्रबार बिहानै बोर्ड बैठक बोलाइएको छ। बैठकमा नीतिका एजेन्डा औपचारिक रूपमा टेबल गरिने र दिउँसोभित्र नीति सार्वजनिक गरिने सम्भावना रहेको स्रोतको भनाइ छ।
यदि शुक्रबार कुनै विशेष कारणवश सार्वजनिक गर्न नसकिएमा असार मसान्तभित्रै नीति ल्याउने तयारी राष्ट्र बैंकको छ।












