काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आउँदो स्थायी समिति बैठकमा प्रस्तुत गरिने एजेन्डा तय गरेको छ। बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले बैठकका एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालको राजनीतिक अवस्था बारे ब्रिफिङ गर्नेछन्। साथै, मध्यपहाडी केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समिति बैठकको मिति तोक्ने, समाजवादी मोर्चाको विस्तार, संगठन निर्माण, कार्य विभाजन र आन्तरिक एकता सुदृढीकरण जस्ता विषयमा छलफल हुनेछ।
सापकोटाले बैठकमा बाढीपहिरोजस्ता समसामयिक विषयमा प्रस्ताव तयार पार्ने तयारी पनि भएको बताए। उपमहासचिव जनार्दन शर्मासम्बन्धी कुनै छलफल नभएको स्पष्ट पार्दै उनले स्थायी समिति बैठकको पूर्वसन्ध्यामा प्रवक्ताले अन्तर्विरोधबारे सार्वजनिक टिप्पणी नगर्ने बताए।
माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार बस्ने कार्यक्रम रहेको छ।












