काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा चलिरहेको हस्ताक्षर अभियानमा सहभागी हुँदै समर्थन जनाएकी छन्।
सरकारले लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ देखाएको आरोप लगाउँदै रास्वपाले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले सहभागी भएर हस्ताक्षर गरेकी हुन्।
हस्ताक्षरपछि प्रतिक्रिया दिँदै उनले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पारिन्। “म कुनै पनि पार्टीमा छैन,” कोइरालाले भनिन्, “एउटा आम नागरिकको हैसियतले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारको विरोध गर्न आएकी हुँ।”
उनले लामिछानेमाथि राज्यको व्यवहार अनुचित रहेको दाबी गर्दै भनिन्, “जसले पनि समाचार हेरिरहेका छन्, बुझिरहेका छन्, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ।”
रास्वपाले लामिछानेविरुद्ध राज्यले देखाएको व्यवहारलाई राजनीतिक प्रतिशोध भन्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। कोइरालाको समर्थनले अभियानलाई थप जनचासो र सशक्तता प्रदान गरेको देखिएको छ।












