काठमाडौं । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–५ निवासी थापा गएराति करिब १ बजेतिर दुर्घटनामा परेका हुन्। मोरङ प्रहरीका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा उनले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाबारे जानकारी दिएका छन्।
मिनष थापा विगत ९ वर्षभन्दा लामो समयदेखि कोशी प्रदेशबाट राष्ट्रिय क्रिकेट खेलमा सक्रिय थिए। उनी एक प्रतिभाशाली ब्याट्सम्यानका रूपमा परिचित थिए। थापाको असामयिक निधनले नेपाली क्रिकेट क्षेत्रमा शोक छाएको छ।












