गोरखा । मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर एक पर्यटक घाइते भएका छन्। घाइते भएका पर्यटक हाल दुई दिनदेखि उद्धारको पर्खाइमा छन्।
चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदै गर्दा ढुङ्गा खस्दा टाउकोमा गम्भीर चोट लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेको हुँदा उद्धारमा कठिनाइ आएको हो। उनले भने, “टाउकोमा गम्भीर चोट छ, जोखिम बढेको भएकाले उनलाई बोकेर ल्याउन सकिएको छैन।”
स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साललाई प्राथमिक उपचार दिइएको छ र उद्धारको पर्खाइमा राखिएको छ।
घटनाका अनुसार, बिहीबार सामागाउँबाट फर्कँदै गर्दा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले लम्साललाई ठक्कर दिएको थियो।












