काठमाडौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार उपनिर्वाचन कात्तिक १७ मा सञ्चालन हुने तालिका तय भएको छ।
यस क्षेत्रका पूर्व सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए। तर, गत असार ४ गते सर्वोच्च अदालत का प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल तथा कुमार चुडालको संवैधानिक इजलासले उनको पदमुक्त हुने फैसला सुनाएको थियो।
फैसला अनुसार, दीपक मनाङे (राजीव गुरुङ) माथि ज्यान मार्ने उद्योग मुद्दा को फैसला भइसकेको र यसका कारण उनी प्रदेशसभा सदस्य पदका लागि अयोग्य भएका थिए। संवैधानिक इजलासले उम्मेदवार बन्न समेत अयोग्य ठहर गर्दै, उनले विवरण झुक्याएर सांसद पद ग्रहण गरेको ठहर गरेको पूर्णपाठमा उल्लेख छ।
निर्वाचन आयोगले सोही अनुुसार उपनिर्वाचनको तयारी अघि बढाएको छ। यस उपनिर्वाचनमा नयाँ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्नेछन्।












