काठमाडौं । आमाको मृत्युपछि मलामी जाने मान्छे नपाउँदा बैतडीका प्रकाश टेलर दमाई घरमै आमाको शव कुरेर बसेका छन् ।
गाउँकै एक्लो दमाई परिवार भएकाले मृतक ६१ वर्षीया माना टेलरको शवलाई बोकेर मलामी जान कोही तयार भएका छैनन् ।
सिगास गाउँपालिका–१, अङडेगाडा गाउँकी माना टेलर लामो समयदेखि मधुमेह रोगबाट पीडित थिइन् । उनको शनिवार निधन भयो । गाउँमा विश्वकर्मा लोहार, चुनारा, सार्कीलगायत दलित र अन्य गैर दलित समुदायका परिवार भए पनि दलितभित्रै जातीय विभेद भएकाले माना टेलरको शव उठ्न सकेको छैन ।
मलामी जाने मानिस नभेटिँदा शव वाहन वा ट्याक्टरका लागि कुरा गरे पनि शनिबार रातिसम्म पनि टुंगो नलागेको मृतकका कुरुवा छोरा ३० वर्षीय प्रकाश टेलरले बताए ।
प्रकाश टेलर स्थानीय भूमिराज आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकसमेत हुन् । आमाको मृत्यु हुँदा मलामी जाने मानिस नपाउँदा दिनभरि आमाको शव कुरेर आँगनमा बस्नु परेको प्रकाशले बताए ।












