काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार उनलाई अदालतको आदेश बमोजिम सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको हो ।
मंगलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुना पठाउने आदेश जारी भएको हो ।
उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो ।
उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।












