दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चुँडिँदा एक युवक बेपत्ता भएका छन्। स्थानीय २८ वर्षीय नारायण बुढाथोकी तुइन चुँडिएर नदीमा खसेका हुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार आज दिउँसो करिब १२ बजे दुम्लिङबाट महाकाली नदी तरेर भारततर्फ जान खोज्दा तुइन चुँडिएर बुढाथोकी नदीमा बेपत्ता भएका हुन्।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइन प्रयोग गरेर महाकाली पार गर्ने क्रममा थिए। पहिले जितुले सकुशल नदी पार गरे पनि नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिएर खसेका हुन्। घटना देखेपछि जयदुले तुइन चढ्ने प्रयास नगरेको प्रहरी निरीक्षक रावतले जानकारी दिए।
बेपत्ता नारायणको खोजी कार्यमा स्थानीयवासी र सुरक्षाकर्मीहरू खटिएका छन्। घटनापछि नदी पार गर्न प्रयोग हुँदै आएको तुइनको सुरक्षाको विषयमा फेरि चासो बढेको छ।












