काठमाडौं । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–४ र ६ जोड्ने बाँसबोटको भीरबाट खसेको पहिरोले म्याग्दी नदी थुनिएको छ। गएराति १० बजेदेखिको अविरल वर्षाले खसेको पहिरोका कारण नदी करिब १० मिनेटसम्म अवरुद्ध भएको जनाइएको छ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार पहिरोका कारण नदीको बहाव रोकिएको थियो भने अहिले पुनः खोलिएर बग्न थालेको छ। तर पहिरो फेरि खस्ने जोखिम कायमै रहेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले नदी ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको खतरा देखिएको जानकारी दिए। नदी आसपासका बस्तीहरूमा सचेत रहन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रभावित क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। घटनास्थलतर्फ प्रहरी, प्रशासन तथा गाउँपालिकाका प्रतिनिधिहरूको टोली पठाइएको उपाध्यक्ष पुन मगरले बताए।
नदी थुनिएर आकस्मिक रूपमा बग्दा तटीय क्षेत्रमा क्षति हुने जोखिम उच्च हुने भएकाले स्थानीयहरूलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।












