काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। यादवलाई सत्ताच्युत नेकपा (एमाले) सहित सबै राजनीतिक दलले विश्वासको मत दिएका हुन्।
आज बसेको प्रदेशसभा बैठकमा उनले सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदको विश्वासको मत पाए। गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।
उनलाई गठबन्धनका घटक कांग्रेससहित जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले यादवलाई विश्वासको मत दिए।
यस्तै, एमाले र सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए।
उपसभामुखको आसनमा बसेर सभा सञ्चालन गरेकी उपसभामुख बबिता राउत इशरले यादवले विश्वासको मत पाएको घोषणा गरिन्।
१०७ सदस्य मधेश प्रदेशसभामा सरकारको विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ। प्रदेश सभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ।












