काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद तथा पूर्व कानुन, न्याय र प्रदेशसभा मामिला राज्यमन्त्री सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार सिंह महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनलाई ३८ लाख ५० हजार ३१९ रुपैयाँ बिगो मागसहित विशेष अदालतमा मुद्धा दायर गरिएको हो।
जाँचका क्रममा सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी तिनका खातामा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाउन लगाएको पाइएको अख्तियारले जनाएको छ।
उक्त रकम सिंह र उनकी श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाइएको पनि उजुरी अनुसन्धानबाट पुष्टि भएको आयोगको दाबी छ।
त्यस्तै, सचिव कायस्थले आफ्नै व्यक्तिगत खातामा पनि रकम जम्मा गरी भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै आयोगले उनलाई पनि सोही मुद्दामा प्रतिवादी बनाएको छ।
अख्तियारका अनुसार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीका लागि विशेष अदालतमा मुद्धा दायर गरिएको हो।












