काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.२ ओभरमै सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो। यो जारी एनपीएलकै सबैभन्दा कम योगफल हो।
८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। लुम्बिनीका ओपनर दिनेश अधिकारीले १३ बलमा ४२ रनको विस्फोटक पारी खेल्दै जितमा महत्वपूर्ण योगदान दिए। अर्का ओपनर डार्सी शटले १४ रन जोडे। कप्तान रोहित पौडेलले १६, निरोशन डिकवेलाले ११ रन बनाए भने दिलिप नाथ १ रनमा नटआउट रहे।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी, हेमन्त धामी र अविनाश बोहराले विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि सुदूरपश्चिमको ब्याटिङ निकै कमजोर रह्यो। पावर प्लेमा नै २० रन बनाउँदा तीन विकेट गुमाएको टोलीलाई लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिँदै दबाबमा पारे। रोहितले दीपेन्द्र सिंह ऐरी, दीपक बोहरा र पुनित मेहरालाई लगातार तीन बलमा आउट गर्दै एनपीएलमा ह्याट्रिक विकेट लिने दोस्रो खेलाडी बने।
लुम्बिनीका लागि शेर मल्ल र रुबेन ट्रम्पलम्यानले समान तीन–तीन विकेट लिए भने तिलक भण्डारीले एक विकेट झारे। सुदूरपश्चिमका लागि इसान पाण्डेले ३३ रन बनाउनु नै सर्वाधिक स्कोर रह्यो।
कप्तान ऐरीले १३ रन जोडे भने अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम रोयल्स यसपटक पनि उपविजेतामै सीमित रहन बाध्य भयो।












