काठमाडौं । लोक सेवा आयोगले आर्थिक वर्ष २०८२/८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, सुरक्षा निकाय तथा विभिन्न सङ्गठित संस्थाहरूका लागि हुने पदपूर्तिको मिति, परीक्षा र नतिजासम्बन्धी तालिका सार्वजनिक गरेको हो।
आयोगका अनुसार यो कार्यतालिका २०८२ साल साउन १ गतेदेखि लागू भइसकेको छ। नयाँ तालिकाले कुन पदको विज्ञापन कहिले खुल्ने, लिखित परीक्षा कहिले हुने र नतिजा कहिले सार्वजनिक हुने भन्ने विषयहरू स्पष्ट रुपमा तोकेको छ।
यसले आयोगमा सहभागी हुन चाहने आवेदकहरूलाई समयमै तयारी गर्न मार्गदर्शन मिल्ने आयोगको भनाइ छ। कार्यतालिकाको प्रकाशनसँगै पारदर्शिता, जवाफदेहिता र समयबद्ध कार्यसम्पादनमा टेवा पुग्ने विश्वास आयोगले व्यक्त गरेको छ।













