काठमाडौं । डाँडाको थाप्लोमा झुरुप्प बस्ती। ढुंगा र माटोबाट बनेका घरहरू। टिनले छाइएका रंगीन छाना। पृष्ठभूमिमा झलमल्ल हिमाल। स्वर्गकै एउटा टुक्रा! मुलुककै पहिलो स्मार्ट भिलेज–घलेगाउँ (२,०७० मिटर)।
गण्डकी प्रदेश, लमजुङ जिल्ला, क्होंलासोंथर गाउँपालिका–३ मा पर्छ घलेगाउँ । गाउँमा गुरुङ, घले र दलितका १२५ घर छन्। ग्रामीण पर्यटन, होमस्टे (गृह बास) पर्यटनको रोज्जा गन्तव्य हो घलेगाउँ।
३ वरपरका गाउँलेले लेकाली साग मात्रै फल्ने दुःखले थिचिएको गाउँ भनेर चिनिने घलेगाउँलाई एउटा नमुना गाउँ बनाउने सपना देखे अगुवा प्रेम घलेले । यी सपना द्रष्टालाई गाउँलेले दरिलो साथ दिए । आज घलेको सपना साकार भएको छ, गाउँलेको साझा सपनाले आकार भेटेको छ र बनेको आजको घलेगाउँ, बनेको छ ।
२०५७ सालमा ग्रामीण पर्यटन, होमस्टे (गृह बास) कार्यक्रम र २०५८ मा घलेगाउँ कला महोत्सव गरेपछि घलेगाउँले धेरै उपमा र पहिचान रचेको छ । लोभलाग्दा ती पहिचानहरु हुन् । २०६४ मा दक्षिण एशियाको नमुना गाउँ, २०७६ मा स्मार्ट भिलेज (सानदार गाउँ), २०७९ मा नेपालकै एकमात्रै सुखी गाउँ ।



तस्बिरः उमल वि.क












