लमजुङ । लमजुङ बेसीशहर नगरपालिका वडा नं. ८ मा आयोजित आधारभूत मौरीपालन सम्बन्धी जिल्लास्तर तालिम सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वय इकाई कार्यालयको आयोजनामा मंगलबारदेखि सुरु भएको तीन दिने यस तालिम बिहीबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति लमजुङको उपप्रमुख बुनाकुमारी रिमालले कुनै पनि तालिम लिएर तालिममा मात्र सिमित गर्यो भने त्यसले कुनै अर्थ नराख्ने बताइन् ।

उनले सरकारले यसमा गरेको लगानी बालुवामा पानी हाले जस्तै हुन्छ, तालिम लिन्छु भनेर व्यवहारमा उतार्न र आफ्नो जीवन उपयोगी बनाउन जरुरी रहेको बताइन् ।
उनले भनिन्,‘कृषिलाई आधुनिकरण गर्न सकेमा किसानको जीवन स्तर माथि उकास्न सक्छौँ ।’ ६६ प्रतिशत किसान भइरहँदा किसानले कृषि पेसालाई अब्बल तरिकाले अगाडि बढाउन सके मात्र अर्थतन्त्र उच्च हुन्छ भन्दै यसमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । कृषि मन्त्रालयबाट पनि कृषि क्षेत्रमा धेरै रहेको बजेट रहेको र यसको उपयोग गर्दै धेरै भन्दा धेरै लाभ लिन सक्नुपर्ने उनले बताइन् । तालिममा सिकेको सीप व्यवसायमा उतार्दै व्यवसायिक बन्न उनले आग्रह गरिन् ।
मौरी खेती गर्न धेरै मेहेनत र समय आवश्यक नरहेकाले एस्ट समयमा यस खेती गर्न सकिने भएकाले साइट जबका रुपमा पनि लिन सकिने भएकाले यस्ता पेसातर्फ अघि बढ्दै जिल्लाकै उत्कृष्ट व्यवसायी हुँदै प्रदेश र केन्द्रमै उत्कृष्ट हुने गरी व्यवसायी गर्न उनले अनुरोध गरिन् ।
परियोजनाका निमित्त प्रमुख हरिबहादुर मिजारले यस तालिममा जिल्लाका किसानमध्ये छनौट गरेर २२ जनालाई सहभागिता गराएर तालिम दिएको बताए ।
यस व्यवसाय प्रति आधारभूत मौरीपालन तालिम प्रदान गरिएको र अब उनीहरुले यस पेसा गर्दै राम्रो कृषक बन्न उनले आग्रह गरे ।
किसानहरुका लागि दुई वटा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको र पहिलो मौरी र दोस्रोमा अलैची रहेको उनको भनाइ छ ।
कार्यक्रममा तालिममा सहभागिताको तर्फबाट गोकुलबहादुर रेग्मी र पुतलीदेवी जोशीले बोल्दै तालिमबाट मौरी पालनसम्बन्धी धेरै कुराको ज्ञान प्राप्त भएको र अब व्यवहारमा लागु गर्दै तालिमको सदुपयोग गर्ने बताए । यस तालिममा मौरी चरण, गोला व्यवस्थापन, रानी उत्पादन, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीका शत्रुहरु, मौरीका रोग र कुपोषण, मह उत्पादन, प्रशोधन, भण्डारण र प्रयोग लगायतका विषयमा सो सहभागीलाई नवीन श्रेष्ठ, बुद्धिलाल आले, मौरी विज्ञ केशबहादुर गुरुङलगायतले प्रशिक्षण दिएका थिए ।
सो तालिमको अवसरमा सहभागिहरुलाई मौरी हेरचाह टोपी समेत वितरण गरिएको थियो । साथै सहभागिहरुलाई प्रमाण पत्र प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख रिमालले प्रदान गरिन् ।












