काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जनाको मृत्यु पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसाइएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए ।
कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ ।
कुवेतको गृह मन्त्रालयले सञ्चालन गरेको सुरक्षा अभियानमा मेथानोल उत्पादन तथा बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरेको छ।
यसमा नेपाली, भारतीय र एक जना बंगलादेशी नागरिक पनि सामेल छन्। अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेपछि अन्य नेपाली पनि पक्राउ परेका हुन्।
उक्त अभियानमा सुरक्षा निकायले ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिएको छ। साथै, देशभरका अवैध बसोबास, भिसा ओभरस्टे, फरार मुद्दा र श्रम कानुन उल्लङ्घनमा संलग्न २५८ व्यक्तिलाई पक्राउ गरिएको छ। अभियान पहिलो उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद अल–युसेफ अल–सबाहको निर्देशनमा, नागरिकता तथा आवासीय क्षेत्रका प्रमुख ब्रिगेडियर जनरल फवाज अल–रौमीको निरीक्षणमा सञ्चालन गरिएको हो।
कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गरिने जानकारी दिएका छन्। आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ। कुवेतमा मदिरा उत्पादन, सेवन तथा बेचबिखनमा पूर्ण प्रतिबन्ध छ।












