काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भएको छ भने १६० जना उपचाररत छन्। मृत्यु हुनेमध्ये ९ जना नेपाली रहेका छन्।
कुवेतमा मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकास बहादुर सिंह र सचिव सुरेन्द्र लिम्बूले अपिल पत्र जारी गर्दै यो जानकारी दिएका हुन्।
सिंह र लिम्बूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अपिल पत्रमा भनेका छन्, “कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।”
गैरआवसीय नेपाली संघका श्रम सहचारी गिरीप्रसाद आचार्यले भने, मृत्यु हुने २३ मध्ये ९ जना नेपाली रहेको र १५ भन्दा बढी अस्पतालमा उपचाररत रहेको जानकारी दिएका छन्। उनले थपे, “पछिल्लो ३ दिनमा ९ जनाको निधन भएको रिपोर्ट आएको छ। उनीहरूको मृत्युको कारणबारे मेडिकल रिपोर्ट आएपछि मात्र पुष्टि गर्न सकिन्छ।”
परिषद्ले अपिल गर्दै कुवेतमा मदिरा सेवन, बिक्री र वितरण पूर्णतया निषेध रहेको बताउँदै अवैध र घातक गतिविधिमा संलग्न नहुन, स्वास्थ्य र सुरक्षा सधैं प्राथमिकतामा राख्न तथा कुवेतको कानुन कडाइका साथ पालना गर्न भनेको छ।
यसैबीच, नेपाली दूतावासले पनि मृतक र उपचाररतको विवरण संकलन गर्दै अवस्था निगरानीमा राखेको छ। परराष्ट्र मन्त्रालयले पनि यसबारे जानकारी राख्न र आवश्यक कदम चाल्न निर्देशन दिएको छ।












