काठमाडौं । काठमाडौं ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् ।
उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष हुन् ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए ।
उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
कुटपिटका मुख्य योजनाकार अनेरास्ववियुकै नेता कमल जोशी रहेको प्रहरीको भनाइ छ । जोशीसहित ६/७ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । जोशी अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा अस्कलको पूर्वस्ववियु सभापति समेत हुन् । जोशी भने अहिलेसम्म फरार छन् ।












