काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्रकृष्ण औँसी अर्थात् कुशे औँसी पर्व श्रद्धा र भक्ति साथ मनाइरहेका छन् । आजका दिन वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग हुने पवित्र कुश घर–घरमा भित्र्याइन्छ ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर ल्याइएको कुशलाई घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार आज उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश भने त्यसै दिन मात्र प्रयोग गर्न मिल्छ ।
सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । पौराणिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको उल्लेख छ ।
यस दिन छोराछोरीले बाबुलाई मन पर्ने भोजन खुवाई सम्मान गर्ने चलन छ । बाबु दिवङ्गत भएका परिवारका सदस्यले गोकर्णेश्वर, बेत्रावती लगायतका तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गर्छन् । काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने परम्परा रहेको छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुसार जीवित बाबुलाई आदरपूर्वक सम्मान गरी आशीर्वाद लिने र दिवङ्गत बाबुको नाममा श्राद्ध तथा तर्पण गरे पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । शास्त्रअनुसार आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा फल प्राप्त हुने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ ।
यसै अवसरमा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमसहित मनाइँदैछ । भाद्रकृष्ण औँसीकै दिन १९२३ सालमा जन्मिएका मोतीराम भट्ट ३० वर्षको उमेरमा १९५३ साल यिनै औँसीकै दिन दिवङ्गत भएका थिए ।
नेपाली साहित्यमा शृङ्गार रसलाई स्थापित गर्ने भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी प्रकाशन गरेर साहित्यिक धरोहर जोगाउनुका साथै नेपालमा पहिलोपटक छापाखाना भित्र्याएका थिए । सोही छापाखानाबाट नेपालमा पत्रकारिताको सुरुआत भएको मानिन्छ ।
मोती जयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका संस्थाले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।












