काठमाडौं । वकालत मञ्च नेपालले सर्लाहीका कुमार पौडेलको हत्यामा संलग्न व्यक्तिमाथि कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरेको छ ।
मञ्चका निर्देशक विकास बस्नेतले विज्ञप्ति जारी गर्दै घटनाको शीघ्र अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका हुन् । ‘सर्लाही जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज कुमार पौडेललाई नेपाल प्रहरीका अधिकृतहरूले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको ५ वर्ष बितिसकेको छ । २०७६ असार ५ गते लालबन्दी नगरपालिकास्थित लखनदेहीको जंगलमा उनको हत्या गरिएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘पौडेलको हत्यामा शीघ्र तथा स्वतन्त्र अनुसन्धान गर्न, घटनामा जिम्मेवार रहेका व्यक्तिमाथि अभियोजन गर्न तथा पीडित र उनको परिवारलाई न्याय दिलाउन सरकारसमक्ष आग्रह गर्दछौं ।’
पौडेलको हत्या गैरन्यायिक भएको दाबी उक्त विज्ञप्तिमा गरिएको छ । ‘एड्भोकेसी फोरम नेपाल र राष्ट्रिय मानवअधिकार आयोगले गरेको स्थलगत भ्रमणका आधारमा तयार पारिएका प्रतिवेदनहरूले पौडेललाई गैरन्यायिक हत्या गरिएको निष्कर्ष निकालेका थिए । आयोगले उक्त हत्यामा संलग्न प्रहरी अधिकृतहरूलाई तत्काल निलम्बन गर्न सिफारिस गरेको थियो र उनीहरूका विरुद्ध फौजदारी अभियोजनको सिफारिस पनि गरेको थियो । आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्नका लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्चको आदेशपछि घटनाका सम्बन्धमा जाहेरी दर्ता भए पनि प्रहरीले घटनामा संलग्न रहेको भनिएका कसैलाई पनि सोधपुछका लागि बोलाएको छैन । जाहेरीमा नाम किटिएका व्यक्तिविरुद्ध पक्राउपुर्जी समेत जारी नभएको विज्ञप्तिमा उल्लेख छ ।