काठमाडौं । काठमाडौँ उपत्यकाको सांस्कृतिक तथा सभ्यतागत पहिचान बोकेको बागमती नदीलाई ढलमुक्त, सफा र सुन्दर बनाउन नयाँ अभियान सुरु गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगै नगरपालिका, बागमती सफाइ अभियन्ता, स्थानीय बासिन्दा र सरोकारवालाको सहकार्यमा यो काम अघि बढाइएको हो।
अभियानको पहिलो चरणमा गुहेश्वरी–गोकर्ण खण्डलाई नमुनाको रूपमा विकास गर्ने योजना रहेको छ। गोकर्णेश्वर–५ जम्बुडाँडा क्षेत्रमा ढल व्यवस्थापन नहुँदा बागमती अत्यधिक प्रदूषित बन्नुका साथै नदी किनारको करिडोर सडक समेत क्षतिग्रस्त बनेको छ।
सरकार तथा सरोकारवालाहरूले अब ढल व्यवस्थापन, करिडोर सडक मर्मत, नदीमा थुप्रिएको फोहोर तथा लेदो हटाउने काम एकैसाथ अघि बढाउने जनाएको छ। फोहोर सफा भएपछि चेक ड्याममार्फत साना तलाउ निर्माण, बोटिङ तथा अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी पनि छ।
दीर्घकालीन रूपमा बागमतीसहित उपत्यकाका सबै नदी करिडोरलाई सफा र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। काठमाडौँलाई स्वच्छ, सुन्दर र व्यवस्थित शहरका रूपमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै घिसिङले “बागमती स्वच्छ बनेपछि मात्र काठमाडौँ साँच्चिकै सुन्दर बन्छ” भनेर विश्वस्तता व्यक्त गरेका छन्।












