काठमाडौं । संघीय निजामती विधेयकमा रहेको ‘कुलिङ अप पिरियड’सम्बन्धी गडबडीबारे छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको छ।
शनिबार सभामुख देवराज घिमिरेको संयोजकत्वमा बसेको विभिन्न दलका नेताहरूबीचको छलफलपछि उक्त निर्णय गरिएको हो। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद्को नियमावलीको दफा १८० अनुसार सात सदस्यीय समिति गठन गर्न सहमति जुटेको हो।
उक्त समितिमा नेकपा एमाले र नेपाली काँग्रेसबाट २–२ जना सदस्य रहनेछन्। यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन्।
समितिले निजामती विधेयकमा रहेको विवादास्पद ‘कुलिङ अप पिरियड’को व्यवस्थाबारे उत्पन्न प्रश्नहरूको गम्भीर अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ।












