काठमाडौं । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी शनिबार देशभर श्रीकृष्णजन्माष्टमी पर्व धूमधामका साथ मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको परम्परा छ। यही कारण यस दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।
पर्वको अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरलगायत देशभरका मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। श्रद्धालु भक्तजनले भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन तथा भजनकीर्तन गरी दिन व्यतीत गरिरहेका छन्।
यस दिन विशेषगरी महिला–पुरुषले व्रत बस्ने, रातभर जाग्राम बसेर कृष्णभक्ति गर्ने प्रचलन रहिआएको छ।












