काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमा दम्भ र अहंकार नभएको र सत्य बोल्ने बानी रहेको बताएका छन्।
सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केहीले आफूलाई दम्भी भन्ने गरेको तर त्यो गलत ठहरिएको बताए।
उनले भने, “हेर त, दम्भ र अहंकार भन्नुहुन्छ, सत्य बोल्ने मेरो बानी छ।”
ओलीले २३ र २४ गते भएको आन्दोलनका विषयमा बोल्दै जेनजी पुस्ता भ्रममा परेर प्रदर्शनमा सहभागी भएको दाबी गरे। उनका अनुसार, ती प्रदर्शनहरू सरकारविरुद्ध नभई केही गलत बुझाइका कारण उत्पन्न भएका हुन्।
उनले थपे, “जेनजीहरूले प्रधानमन्त्रीको राजीनामा होइन, भ्रष्टाचारको अन्त्य, सुशासनको माग र रोकिएका सामाजिक सञ्जाल पुनः खोल्न माग गरेका हुन्।”
अध्यक्ष ओलीले जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न संवाद र सुधारका माध्यमबाट अघि बढ्नुपर्ने बताएका छन्।












