काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई इमानदार र क्लिन बन्न आग्रह गरेका छन्। मंगलबार बिहान गुण्डुमा कार्यकर्तासँगको भेटवार्तामा अध्यक्ष ओलीले युवाहरू हावामा कुद्ने होइन, आफ्नो र देशप्रतिको कर्तव्य बुझ्नुपर्ने बताएका हुन्।
अध्यक्ष ओलीले भने, “देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा कुद्ने होइनन्। आफ्नो कर्तव्य के हो? देशप्रतिको कर्तव्य के हो? समाजप्रतिको कर्तव्य के हो? पढाइमा कति ध्यान दिने? जहाँपनि हामीले इमानदार हुन सिक्नुपर्छ, क्लिन हुन सिक्नुपर्छ। नलेज बढाउने, क्यारेक्टर डेभलप गर्नुपर्छ। सामाजिक सञ्जालको डिजिटल प्लेटफर्मको सदुपयोग गरिरहेको छु कि छैन भन्ने राम्ररी विचार गर्नुपर्छ।”
उनीहरूले जेनजी प्रदर्शनपछि देश बदनाम अवस्थामा पुगेको उल्लेख गर्दै, जिम्मेवार र सभ्य भएर यसबाट उठ्नुपर्ने बताएका छन्। अध्यक्ष ओलीले भने, “नेपाल एउटा बदनाम अवस्थामा पुगेको छ। त्यसबाट हामीले भन्न सक्नुपर्छ, नेपाल इमानदार अवस्थामा छ। अत्यन्तै जिम्मेवार र सभ्य मानिसहरूको काँधमा यो जिम्मेवारी आएको छ।”
उनले जेनजी प्रदर्शनका क्रममा केही व्यक्तिहरू योजनाबद्ध रुपमा क्रियाशील भएको समेत बताए। “उनीहरूको योजनाबद्ध तयारी देखिन्छ। फेरि बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने छैन। साँझ पर्यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विचार गर्नु पर्छ,” ओलीले थपे।
अध्यक्ष ओलीका यी अभिव्यक्तिले युवालाई जिम्मेवार, इमानदार र देशप्रतिको कर्तव्यबोधसँग जोडिने प्रेरणा दिने अपेक्षा गरिएको छ।












