काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी पुस्ता देशको स्वाभिमान, कानून र राष्ट्रियता बुझ्न सक्षम रहेको बताएका छन्। तर, उनीहरूले दुरुपयोग हुनसक्ने भएकाले त्यसप्रति सचेत रहनुपर्ने उनको भनाइ छ।
ललितपुरको गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा आइतबार समूहगत छलफलपछि सम्बोधन गर्दै ओलीले सरकारले सामाजिक सञ्जाल बन्द गर्न नभई दर्ता मात्र गराउन खोजेको स्पष्ट पारे।
उनले भने, “अहिलेको पुस्ता देशको स्वाभिमान, कानून, राष्ट्रियता बुझ्न सक्षम छ। हामीले सामाजिक सञ्जाल बन्द गर्न खोजेको होइन, दर्ता मात्र गराउन भनेका हौं। एक वर्षदेखि निरन्तर ताकेता गर्दा पनि दर्ता नभएकाले अहिलेको अवस्था आएको हो।”
भर्चुअल दुनियाँमा बढी सक्रिय रहने ‘जेनरेशन जेड’ पुस्ताले सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाएको भन्दै सडक आन्दोलनको तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो।












