काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको संस्था नभएको स्पष्ट पारेका छन्। सोमबार मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही नेताका नाममा बनेका प्रतिष्ठानहरू व्यक्तिको कब्जामा जाने प्रवृत्ति रहेको बताए।
उनले भने, “पार्टीले पुष्पलाल र मनमोहन लगायतका प्रतिष्ठानहरू स्थापना गर्यो, तर पछि केही व्यक्तिहरूले त्यस्ता प्रतिष्ठानलाई आफ्नो माध्यम बनाएर कब्जा गर्ने प्रयास गरेका छन्।”
ओलीले पार्टीका संस्था सामूहिक हुनुपर्ने र व्यक्तिगत स्वार्थका लागि प्रयोग हुनु गलत भएको बताए। उनले मदन भण्डारी फाउन्डेसन आफैंले बनाएको संस्था नभएको तर त्यसलाई लिएर विवाद सिर्जना भएको बताए।
प्रधानमन्त्री ओलीले मदन आश्रित स्मृति मनाउन नपाइने स्थिति बनेको र त्यसका विरोधमा विकृतिपूर्ण लेखहरू नेतृत्वबाट लेखिने समेत बताएका छन्। उनले फाउन्डेसनको भविष्य कस्तो हुने हेर्नुपर्ने बताएका छन्।
मदन भण्डारी फाउन्डेसनका संरक्षक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी हुन्।
ओलीले कम्युनिस्ट पाठशाला लगायत केही संस्थाहरू व्यक्तिको वा परिवारको हो कि आन्दोलनको नाममा ठगी गर्ने माध्यम हुन् कि भन्ने प्रश्न उठाउँदै यसरी आन्दोलनको विपरीत हुने कार्य अस्वीकार्य रहेको बताए।












