काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको पर्यायका रूपमा चित्रण गरिनु अनुचित भएको बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचार नियन्त्रण गर्ने पक्ष हो भन्ने स्पष्ट पारे।
नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले शून्य समयमा “सरकार र भ्रष्टाचार पर्यायवाचीजस्ता बनेका छन्” भन्ने आरोप लगाएको जवाफमा प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै भने, “सरकारले दुई चार जनालाई कारबाही गर्यो भने, सरकार भ्रष्टाचारी भयो भन्ने त हुन्न नि। भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु सरकारको कर्तव्य हो।”
प्रधानमन्त्री ओलीले गम्भीर विषयहरूमा तथ्यमा आधारित छलफल हुनुपर्नेमा जोड दिँदै भने, “सरकार भ्रष्टाचारको पर्याय होइन, भ्रष्टाचार नियन्त्रणको पर्याय हो। यस्ता विषय गम्भीरताका साथ लिनुपर्छ।”
उनले विकास र आर्थिक वृद्धिको सवालमा साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई सहयोग र समन्वयका साथ अघि बढ्न आग्रह गरे।












