काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (चैत १९ गते) थाइल्यान्डको औपचारिक भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राको निमन्त्रणमा प्रधानमन्त्री ओली आज दिउँसो बैंकक प्रस्थान गर्ने भएका हुन्।
यस क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।
प्रधानमन्त्री ओली दिउँसो साढे १ बजेको उडानमा थाइल्यान्डको बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीका अनुसार थाइल्यान्डमा पहिलोपटक कूटनीतिक भ्रमण हुन लागेको हो। नेपालका तर्फबाट पहिलोपटक कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण हुँदै छ।
थाइल्यान्डका राजासँग चैत २० गते औपचारिक भेटवार्ता हुने उनले जानकारी दिएका छन्। त्यसैगरी त्यहाँका प्रधानमन्त्रीसँग पनि कुरा हुने उनले सोमबारै संसद्मा बताएका छन्।
‘दुईवटा समझदारीमा हस्ताक्षर हुन्छ। दुईपक्षीय वार्तापछि संयुक्त प्रेस मिटमा सहभागी हुन्छु’, उनले भने।
थाइल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्रीले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा सम्बोधन गर्नेछन्।
भ्रमणका दौरान प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट एआईटीलाई अनुदान सहायताबापत १ लाख अमेरिकी डलर दिने निर्णय मन्त्रिपरिषद्ले बैठकले गरेको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन्।












