काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।
भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।
मंगलबार बालुवाटारस्थित सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कठिनाइमा परेका जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि सबैलाई आग्रह गरे ।
‘सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अप्ठ्यारो परेको बेला कठिनाइमा भएका जनतालाई हेर्ने कुरामा । यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र साशन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ ओलीले भने ।
साथै, प्रधानमन्त्री ओलीलेसरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भिरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि बताए ।
‘सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ ।
आशा, भरोसा जागेको छ, सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस्,’ ओलीले भने ।
नयाँ सरकार आएपछि सिंगै देशमा आशा÷भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे ।