काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेको छ। साथै, ती व्यक्तिहरूबाट चोरी गरिएको सामान खरिद गर्ने ५ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरिएको हो।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले मंगलबार पत्रकार सम्मेलन गरेर मोरङ, सुनसरी र झापा जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने समूह र उनीहरूले प्रयोग गरेका सामग्रीहरू सार्वजनिक गरेका हुन्।
चोरीमा संलग्नहरू मोरङ र सुनसरीका विभिन्न स्थानका बासिन्दा हुन्। पक्राउ पर्नेहरूबाट प्रहरीले तामाका तार, विभिन्न औजार, मोटरसाइकल, पिकअप गाडी र मोबाइलहरू बरामद गरेको छ।
प्रहरीका अनुसार उनीहरूले मोरङबाट ८ थान, सुनसरीबाट १२ थान र झापाबाट २ थान ट्रान्सफर्मर चोरी गरेका थिए। चोरी भएको सामग्री विभिन्न भाँडा पसल, कवाडी र मेटल फ्याक्ट्रीहरूमा बिक्री गरिएको पाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।












