काठमाडौं । विवादमा परेपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।
उनी जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै गत कार्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा जापान गएको श्रोतले जनाएको छ ।












