काठमाडौं। काठमाडौं महानगरपालिकाले युवालाई देशभित्रै रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउने उद्देश्यले सिप मेलाको तेस्रो संस्करण सञ्चालन गर्ने तयारी गरेको छ।
महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७ हजार ७८० जनालाई सिपमूलक तालिम प्रदान गरिसकेको छ। तालिम लिएकामध्ये ५० प्रतिशत रोजगारीमा रहेको महानगरले जनाएको छ।
महानगरपालिकाले १५ हजार युवालाई सिपमूलक तालिम प्रदान गरी कम्तीमा ५ हजार जनालाई रोजगारी तथा स्वरोजगारमा जोड्ने लक्ष्य राखेको छ। सिप नभएका युवालाई व्यावसायिक सिप सिकाउने र आधारभूत तालिम लिइसकेकालाई थप दक्ष बनाएर बजारको मागअनुसार जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेला सञ्चालन गरिएको हो।
महानगरपालिकाले श्रमिक दिवस २०८१ देखि टुँडिखेलमा पहिलो सिप मेला सञ्चालन गरेको थियो। उक्त मेलामा तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए। विभिन्न विधामा २ हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएकामा २ हजार ५७५ जनालाई तालिम प्रदान गरिएको महानगरले जनाएको छ। तालिम लिएकामध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर पाएका थिए।
तालिमपछि पनि रोजगारी वा स्वरोजगारमा जोडिन नसकेका युवालाई लक्षित गरी महानगरले उद्योग तथा कम्पनीसँगको सहकार्यमा काम गर्दै सिक्ने अर्थात् ‘अन द जब ट्रेनिङ’ कार्यक्रमसमेत सञ्चालन गरेको तालिम संयोजक देवेन्द्र केसीले जानकारी दिए।
दोस्रो संस्करण २०८२ साल जेठ ७ गतेदेखि टुँडिखेलमा सुरु भएको थियो। त्यसमा २ हजार ८२ जनालाई तालिम दिने लक्ष्य राखिएको थियो भने अनलाइन आवेदन दिएका मध्ये २ हजार ९२५ जनालाई सहभागीका रूपमा छनोट गरिएको थियो। दोस्रो संस्करणमा १० क्षेत्रका ४२ पेसासँग सम्बन्धित तालिम समावेश गरिएका थिए।
दोस्रो संस्करणमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) अन्तर्गत साइबर सुरक्षा, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अप्टिक्स टेक्निसियन तथा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सञ्चालन गरिएको थियो।
सौन्दर्यसम्बन्धी तालिममा कृत्रिम कपाल बनाउने, मेकअप तथा हेयर, नेल टेक्निसियन र बार्बर पेसा समेटिएका थिए। इलेक्ट्रोनिक्सतर्फ ल्यापटप मर्मत, एसी तथा रेफ्रिजरेटर, सीसीटीभी र मोबाइल मर्मतसम्बन्धी तालिम दिइएको थियो।
गार्मेन्ट तथा फेसन क्षेत्रमा गार्मेन्ट फेब्रिकेटर र आधारभूत फेसन डिजाइनिङ, निर्माण क्षेत्रमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्रीसम्बन्धी तालिम सञ्चालन गरिएको थियो। त्यस्तै, आतिथ्य सेवाअन्तर्गत बारिस्ता, वेटर, फास्टफुड र बेकरीसम्बन्धी तालिम समावेश थिए।
अटोमोबाइल्स क्षेत्रमा विद्युतीय सवारीसाधन मर्मत, हलुका सवारीसाधनका मेसिन तथा उपकरण मर्मत र विद्युतीय तथा इन्धनबाट चल्ने मोटरसाइकल एवं स्कुटर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको थियो।
महानगरपालिकाले तेस्रो संस्करणमार्फत तालिमको पहुँच विस्तार गर्नुका साथै सिप सिकेका युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने प्रयासलाई निरन्तरता दिने तयारी गरेको छ। तालिम प्रदान गर्नु मात्र नभई सिकेको सिपलाई उत्पादन, बजार र आयआर्जनसँग जोड्न सकेमा मानव पुँजी पलायन घटाउन तथा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने महानगरको अपेक्षा छ।












