काठमाडौं । नयाँ राजनीतिक शक्ति “राष्ट्रिय जेनजी पार्टी नेपाल” निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाएको छ। हीराप्रसाद सेती उर्फ किरण विकको अध्यक्षतामा रहेको उक्त दलले सोमबार आयोगमा दल दर्ताका लागि औपचारिक निवेदन दिएको हो।
आयोगमा दर्ता गराइएको निवेदनअनुसार पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् भने पार्टीको केन्द्रीय कार्यालय काठमाडौँको अनामनगरमा रहेको उल्लेख छ।
निवेदनमा अध्यक्ष किरण विकका साथ मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव, र सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान तथा होम श्रेष्ठ सचिव रहेका छन्।
अध्यक्ष विकले पार्टीले सामाजिक उदारवादलाई आफ्नो मूल विचारधाराका रूपमा अंगीकार गरेको बताएका छन्। उनका अनुसार पार्टीको नीति तथा कार्यदिशा युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आधार स्तम्भका रूपमा लिनेछ।












