काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले कार्य योजना बनाएको छ । पूर्वसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उक्त प्रतिवेदनले दिएका सुझावका आधारमा सरकारले विभिन्न ४०८ वटा कार्यलाई कार्यान्वयन गर्ने समयावधि, जिम्मेवार निकाय र अपेक्षित उपलब्धि सहित सरकारले यस्तो कार्ययोजना बनाएको हो ।
सरकारले गत कात्तिकमा बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले वैशाखमा आफ्नो अन्तिम प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्दै जाने निर्णय गरेको सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा सुझाव कार्यान्वयनको विषय समेटेको थियो ।
मन्त्री परिषद्ले वैशाख २ गते कार्य योजना बनाउन समिति गठन गरेको थियो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेलको नेतृत्वमा गोविन्दबहादुर कार्की, कृष्णबहादुर राउत र रावश्वसचिव दिनेशकुमार घिमिरे सदस्य रहेको समितिले कार्य योजना बनाएको थियो । सोमबारको बैठकले उक्त कार्य योजना स्वीकृत गरेको हो । योसँगै अर्थ मन्त्रालयले उक्त कार्य योजना शुक्रबार सार्वजनिक समेत गरेको छ ।