काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले अध्यक्ष नेपालको ‘पार्टी छोड्नुहोस्’ भन्ने अभिव्यक्तिबाट आफू गहिरो दुखित भएको बताएका हुन्।
खनालले भने, “३२ सालदेखि सँगै आएको नेताले कम्युनिष्ट पार्टीको नीति, पद्धति, सिद्धान्त बुझेकै हुनुपर्छ भन्ने आशा थियो। तर उहाँले ‘पार्टी छोड’ भनेर आदेश दिनुभयो। आदेश दिएपछि कुनै कम्युनिष्ट नेताले छोड्छ? यही हो उहाँको हैसियत?”
आफूले माधव नेपाललाई भव्य नेताका रूपमा हेर्दै आएको उल्लेख गर्दै खनालले भने, “मैले उहाँलाई सम्मान गरें। तर यस्तो अभिव्यक्तिले उहाँको चिन्तन स्तर प्रस्ट्यायो—त्यो पेटी बुर्जुवा चिन्तन हो।”
खनालले अध्यक्ष नेपालको मुखबाट ‘पार्टी छोड’ भन्ने अभिव्यक्ति आउला भन्ने कल्पना पनि नगरेको बताए। “कुनै नेताले यस्तो भन्दैन। उहाँको मुखबाट यस्तो आउला भन्ने कल्पना नै थिएन,” उनले भने।
पार्टी भित्रको असहमति र आन्तरिक मतभेद चुलिँदै जाँदा नेता खनालको अभिव्यक्ति पार्टीमा नयाँ बहसको विषय बन्ने देखिएको छ।












