काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको १८ औँ खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाउँदै १५५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। यो काठमाडौंको चौथो जित हो र यसले टोलीलाई प्लेअफको नजिक पुर्याएको छ।
काठमाडौंका लागि जेहरार्ड इरास्मसले सर्वाधिक ४३ रन अविजित बनाए। उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे। जोन सिम्पसनले २१ बलमा ४१ रन बनाए भने बेन चाल्र्सवर्थले ३४ रनमा योगदान दिए। भिम सार्की ६ रनमा अविजित रहे।
कर्णालीका लागि नन्दन यादवले ३ विकेट लिएका थिए भने पवन सर्राफले १ विकेट लिए।
कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो। गुल्सन झाले सर्वाधिक ४९ रन बनाए। पवन सर्राफ ३५ रन, मार्क वाट ३० रनमा आउट भए। अन्य खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
काठमाडौं गोर्खाजले यसअघि ३ जित र २ हार बेहोरेको थियो। कर्णाली याक्सको यो चौथो हार हो। यसअघि कर्णालीले ४ खेलमा १ मात्र जित दर्ता गरेको थियो।
एनपीएल अन्तर्गत सोमबार कुनै खेल हुने छैन।












